प्रदेश प्रमुखबाट ‘कोशी’ लेख्न बनेको संशोधन विधेयक प्रमाणीकरण
काठमाडौं, ३२ जेठ – प्रदेशको नाम कोशी खारेजको माग लिएर आन्दोलन भइरहेको विषय देखाउँदै केही समय रोकिएको प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङले उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयक प्रदेश सरकारको कानुन मन्त्रालयको तर्फबाट खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले गत जेठ १४ गते प्रदेशसभामा पेश गरेका थिए । सोही दिन उक्त विधेयक ध्वनिमतका साथ सर्वसम्मत पारित भएको थियो ।
त्यसको दुई दिनपछि अर्थात् जेठ १६ गते संसद् सचिवालयले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रमाणीकरणका लागि पठाएको थियो । प्रदेश प्रमुखको कार्यालयमा भने उक्त विधेयक प्रमाणीकरणको पत्र १७ गते दर्ता गरिएको छ । खापुङले प्रदेश नामकरणको विषयमा आन्दोलन चलिरहेको र असन्तुष्टि बढेको भन्दै उक्त विधेयक ‘होल्ड’ गरेका थिए ।
विधेयक प्रमाणीकरणको विषयमा प्रदेश प्रमुखले पटकपटक कर्मचारीसँग परामर्श गरेका थिए । प्रदेशको नामकरण परिवर्तन भइसकेकोले प्रदेशका सबै ऐनहरु एकैपटक संशोधन गरेर प्रदेश १ को सट्टा कोशी प्रदेश लेख्न उक्त विधेयक ल्याइएको हो । प्रदेश नाम कोशी खारेज गर्नुपर्ने भन्दै आन्दोलनरत पक्षले भने प्रदेश प्रमुखलाई उक्त विधेयक प्रमाणीकरण नगर्न दबाब दिइरहेको थियो ।

