लेवनानले पनि साफ च्याम्पियनसिप खेल्ने

काठमाडौँ, २५ वैशाख – मध्यपूर्वको लेवनानले पनि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले आयोजना गर्ने क्षेत्रीय फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप खेल्ने भएको छ ।

भारतको बैंगलुरुमा ६–१९ असारसम्म १४औं संस्करणको साफ च्याम्पियनसिप आयोजना हुँदैछ । साफले सोमबार प्रतियोगिता खेल्ने आठौं टोलीका रुपमा लेवनानको नाम घोषणा गरेको हो ।

साफले प्रतिस्पर्धास्तर बढाउन भन्दै यो संस्करणदेखि साफ क्षेत्रभन्दा बाहिरका टिमलाई आमन्त्रित प्रतिस्पर्धीका रुपमा सहभागी गराउन लागेको हो । यसपल्ट साफ च्याम्पियनसिपमा साफ क्षेत्रका श्रीलंकाबाहेक ६ टिमको सहभागिता रहनेछ । फिफाको प्रतिबन्धमा परेका कारण श्रीलंकाले प्रतियोगिता खेल्न नपाएको हो ।

साफ बाहिरबाट प्रतिनिधित्व गर्ने लेवनान दोस्रो टिम हो । यसअघि अघिल्लो साता कुवेत टिम साफ च्याम्पियनसिपमा सहभागी हुने घोषणा गरिएको थियो ।

फिफाको पछिल्लो वरीयतामा ९९ नम्बरमा रहेको लेवनान एसियन कपको अनुभव भइसकेको टिम हो । लेवनानले सन् २०१९ मा तेस्रोपल्ट एसियन कप खेलेको थियो । साफ च्याम्पियनसिपमा यसपल्ट भारत, नेपाल, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेवनानको सहभागिता रहनेछ ।

२०७८ असोजमा माल्दिभ्समा सम्पन्न १३औं संस्करणमा नेपाल पहिलोपल्ट उपविजेता बनेको थियो । फाइनलमा नेपालले भारतसँग ३–० गोलअन्तरको पराजय ब्यहोरेको थियो ।

Facebook Comments Box