‘अरुणमा पानीको निकास भइरहेको छ, मानव बस्तीमा जोखिम छैन’
काठमाडौँ, १७ वैशाख – संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङमा पहिरो खस्दा पानी रोकिए पनि जोखिम नरहेको प्रहरीले जनाएको छ । पहिरो गएपनि पानी निकास भइरहेका कारण बस्तीहरुमा जोखिम नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
‘टनेल साइटको पहिरोले पानी थुनिएको हो, दायाँ–बायाँबाट निकास भइरहेको जानकारी आएको छ’, उनले भने, ‘ मानव बस्तीमा पानीको जोखिम छैन ।’ निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल संखुवासभाको फाक्सिन्दामा आइतबार बिहान सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको हो ।
पहिरोले निर्माणधीन अरुण तेस्रो आयोजनाको संरचनामा पनि क्षति पुगेको छ । पहिरोले ४२९ मिटर लामो डाइर्भसन टनेलको निकास विन्दुमा निर्माण भएको संरचनामा क्षति पुगेको छ । पहिरोले थुपारेको माटो एकैपटक बग्न सक्ने भएकालेर प्रहरीले अरुण नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

