बाघको आक्रमणमा परेकी महिलाको अवस्था अज्ञात
काठमाडौँ, ९ वैशाख – कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघको आक्रमणमा परेकी एक महिलाको अवस्था अज्ञात छ । हिजाे बिहान घाँस काट्न जानुभएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता हुनुहुन्छ । दिउँसोभर प्रहरी र स्थानीयवासीले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिनुभयो ।
हिजाे बिहान ११ बजेतिर चार-पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो । “हामीले दिनभर खोजी गरे पनि फेला पार्न सकेका छैनौँ”, प्रवक्ता डाँगीले भन्नुभयो, “बाघ त्यही झाडीमा देखिएको छ, बाघको उद्धारका लागि बर्दियाबाट टोली आउँदैछ ।”
महिलामाथि आक्रमण गर्ने बाघलाई स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले दिउँसोदेखि घेरेर बसेका छन् । बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बेलौरी पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताउनुभयो । “बर्दिया र शुक्लफाटाँको टोली सो क्षेत्रमा पुगिसकेको छ”, उहाँले भन्नुभयो, “आवश्यक परेमा हात्ती तम्तयार अवस्थामा राखिएका छन् ।”
उहाँले राति भइसकेकाले क्यामेराबाट बाघको निगरानी गरेर बाघ नियन्त्रणमा लिइने जानकारी दिनुभयो । ड्रोन क्यामेरामा बाघ र महिलाका वस्त्र देखिएको प्रहरीले जनाएको छ । चन्दसँगै घाँस काट्न गएका अन्य महिलाले भागेर ज्यान जोगाएका थिए । बाघको आक्रमणपछि महिला बेपत्ता भएपछि स्थानीयवासी त्रसित छन् ।