मध्यपश्चिम विश्वविद्यालयद्वारा २५ विज्ञ प्राज्ञ नियुक्त

काठमाडौँ, १ वैशाख – मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधि तथा महाविद्यावारिधि गरेका २५ विज्ञ प्राज्ञ नियुक्त गरेको छ । विश्वविद्यालयले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी प्राज्ञ नियुक्तिका साथै संस्थागत नमूना तथा सम्बन्धनसम्बन्धी कार्यविधि, २०७९ को बारेमा जानकारी गराएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले विज्ञापनमार्फत प्राज्ञहरूको नियुक्ति गरिएको बताउनुभयो । उहाँले २५ विज्ञ प्राज्ञको नियुुक्ति विशेष प्रकृतिको करारबमोजिम परियोजनामा आधारित स्रोतबाट तलब सुविधा भुक्तानी हुने भएकाले विश्वविद्यालयको नियमित सञ्चालन खर्चमा अतिरिक्त भार नपर्ने प्रष्ट्याउनुभयो ।

उहाँले भन्नुभयो, “प्राज्ञ नियुक्तिले खर्चमा अतिरिक्त भार पर्दैन बरु उल्टै अनुसन्धान परामर्शलगायत क्रियाकलापबाट अतिरिक्त आयआर्जनमा योगदान हुने प्रष्ट छ । उहाँहरूद्वारा ग्र्याजुएट स्कुलअन्तर्गतका प्राध्यापकज्यूहरूको अनुसन्धान तथा कृति प्रकाशन कार्यमा थप बल पुग्न गई समग्र विद्यार्थीले प्राप्त गर्ने शिक्षा, ज्ञान र सीपको गुणस्तरमा सुधान हुने आशा गर्न सकिन्छ ।”

मध्यपश्चिम विश्वविद्यालयले ग्र्याजुएट स्कूल अफ म्यानेज्मेन्ट डीनको कार्यालयअन्तर्गत एमफिल/पिएचडी कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालनमा ल्याएको र हालसम्म एमफिलतर्फ ५७ र पिएचडीतर्फ आठ स्कलरले अध्ययन, अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयका अन्य छ वटा ग्र्याजुएट स्कूलअन्तर्गत एमफिल/पिएचडी कार्यक्रम हुन नसक्दा यहाँका करिब दुई सयभन्दा बढी प्राध्यापक एमफिल/पिएचडीको अध्ययन अनुसन्धानको अवसरबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गरी गरिएको विज्ञापनबाट अध्ययन तथा अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने रजिष्ट्रार पौडेलको भनाइ थियो ।

उहाँका अनुसार विश्वविद्यालयको सम्बन्धनसम्बन्धी व्यवस्थाले देशका विभिन्न भूभाग र विशेषगरी कर्णाली प्रदेशमा विभिन्न विषयमा अध्ययन गराउन इच्छुक सामुदायिक, निजी तथा सहकारीमा आधारित सङ्घ/संस्थालाई भिन्नभिन्न विषयका कार्यक्रम सञ्चालन गरी देशभरिका विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने अवस्था सिर्जना हुने र त्यसले राष्ट्रको योगदान पु¥याउने उद्देश्य राख्दछ । विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनले विद्यार्थी सङ्ख्या बढ्ने र त्यसले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापनमा स्तरवृद्धि हुने जनाइएको छ ।

Facebook Comments Box