आज देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, १३ चैत – आज पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। मौसमविद्का अनुसार देशका बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा पानी पर्नसक्छ ।
यसबाहेक दिउँसो देशका पहाडी भेगमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना एकदम कम छ। ‘वर्षा भइहाल्यो भने पनि साँझपख कतै कतै हुनसक्छ’, उनले भने। महाशाखाका अनुुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
यस्तै आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसबाहेक राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।