वेस्ट बैंकमा इजरायली सुरक्षा बलले गरेको आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं, ११ फागुन – वेस्ट बैंकमा इजरायली सुरक्षा बलले गरेको आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ। साथै ८० जना बढी घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बुधबार बिहान इजरायली सुरक्षा बल पुरानो सहर नाब्लसमा प्रवेश गर्दा त्यहाँबाट विस्फोट र बन्दुकको आवाज सुनिएको थियो।
इजरायलको सेनाले एउटा घरमा घुसेर त्यहाँ लुकेर बसेका तीनजना अतिवादीलाई मारेको समाचार एजेन्सीहरूले बताएका छन्। प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार ७२ वर्षीय अदनान साबे बारा, ६१ वर्षीय अब्दुल हादी अस्कर र १६ वर्षीय मोहम्मद शाबानको मृत्यु भएको हो।
अर्का एक वृद्ध अमन शौकत अनबको बुधबार बिहान अश्रुग्यासबाट निसासिएर अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ। चरमपन्थी संगठन लायन्स डेनले टेलिग्राम पोस्टमा आफ्ना र अन्य संगठनका छ जना सदस्य मारिएको बताएको छ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेहरुको पाँच अस्पतालमा उपचार भइरहेको जनाएको छ। इजरायली सेनाले गत महिना जेनिनमा पनि यस्तै आक्रमण गरेको थियो, जसमा १० जनाको मृत्यु भएको थियो।