ग्यास सिलिन्डर पड्किँदा कांग्रेस नेता भण्डारी र आमा जलेर घाइते, कीर्तिपुर अस्पतालमा उपचार हुँदै

काठमाडौं, ४ फागुन – नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ। बुधबार राति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट हुँदा उनी र आमा जलेर घाइते भएका छन्।

भण्डारी र उनकी आमा दुवैजनालाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ। अस्पतालका डाक्टरहरुका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ।

घटनापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरू कीर्तिपुर अस्पताल पुगेका छन्। उनलेे दुवैजनाको उपचार भइरहेको जानकारी दिएका छन्। ‘अस्पतालबाट भर्खर फर्किएको छु। ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षीया माताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेकोे छ’, उनले भनेका छन्।

उनले दुवैजनाको स्वास्थलाभका लागि कामनासमेत गरेका छन्। डा. भण्डारीले बुधबारको संसद बैठकमा करिब १२ मिनेट लामो सम्बोधन गरेका थिए। उनी मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै विजयी भएका हुन्।

Facebook Comments Box