प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता
काठमाडौं, १० माघ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गण्डकी प्रदेशमा ठूलो बजेट चलाउने मन्त्रालयको दाबीबाट माओवादी केन्द्र टसमस नहुँदा मन्त्रिपरिषद् बिस्तार र जिम्मेवारी बाँडफाट हुन सकेको छैन। सोही विषयमा शीर्ष नेतृत्वसँग छलफल गर्नका लागि मुख्यमन्त्री अधिकारी सोमबार साँझ पोखराबाट काठमाडौं आएका थिए। लगत्तै, उनले आज (मंगलबार) बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।
पुस २५ गते तीनजना बिनाविभागीय मन्त्रीसहित शपथ लिएका अधिकारी शीर्ष नेतृत्वसँग मन्त्रालय बाँडफाटको सहमति जुटाउन काठमाडौं आएका हुन्। उनले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

