अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई पक्राउ

काठमाडौँ, २२ पुस – अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएपछि चर्चामा आएका शाहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता कमल थापाले शाहल लगायत ६ जनालाई पक्राउ गरी हिरासतमा लिएको पुष्टि गरेका छन्। ‘ठगीसम्बन्धी कसुर मुद्दामा उनीहरुलई पक्राउ गरिएको हो’, थापाले भने, ‘शाहसहितले विदेशी नागरिकहरुलाई विश्वासमा पारेर स्विफ्टमार्फत करोडौँ रुपैयाँ ठगी गरी नेपाल भित्र्याएको खुलेको छ।’

उनका अनुसार शाहले स्विफ्टमार्फत ४६ लाख ४६ लाख ७३७ अमेरिकी डलर, १२ हजार ८२५ पाउन्ड, नेपाली रुपैयाँ ३ करोड २२ लाख २८ हजार ६८० गैरकानुनी रुपमा ठगी गरि ल्याएको अनुसन्धानबाट खुलेको जानकारी दिए।

‘विभिन्न दर्जनौँ कम्पनी खडा गरेर नियामक निकायसँग अनुमति नलिइ ठगी गरेको भेटिएको छ’, उनले भने, ‘नेपाल राष्ट्र बैंक र वैदेशिक रोजगार विभागबाट पनि अनुमति नलिइ ठगी गर्ने उद्धेश्यले गैरकानुनी काम गरेको पाइएको छ।’

उनका अनुसार शाहसँगै उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गत काफ्ले र रंगबहादुर साउद पक्राउ परेका छन्। शाह अमेरिकाबाट अवैध च्यानल हुँदै आएको करोडौं रकम फुक्का गरिदिने केसमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा पनि विवादमा जोडिएका थिए।

त्यसबेला मन्त्री शर्माले अछामका शाहको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर घुस मागेको सूचना पाएको बताएका थिए।

Facebook Comments Box