बागमती प्रदेशसभाका जेष्ठ सदस्यको शपथ ग्रहण आज हुँदै

काठमाडौँ, १३ पुस – बागमती प्रदेशसभाका जेष्ठ सदस्यको शपथ ग्रहण आज बुधबार हुँदैछ । दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हुटौंडामा जेष्ठ सदस्यको शपथको कार्यक्रम रहेको छ । प्रदेशको जेष्ठ सदस्यको रुपमा नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले शपथ गर्दैछन् ।

जन्म मिति अनुसार प्रदेशसभाका ११० सांसदमध्ये उनी ज्येष्ठ सदस्य हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउने छन् । निर्वाचन आयोगले गत पुस २ गते प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उनी उमेर ७२ वर्ष रहेको छ । उनको जन्म २००६ साल असोज २ गते भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन् । सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभामा निर्वाचित ढुङ्गानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्नेछन् ।

उनले शपथ ग्रहण गरेपश्चात बाँकी सांसदलाई पुस १४ गते बिहीबार शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । संवैधानीक व्यवस्था अनुसार प्रदेशको जेष्ठ सदस्यले सभाका अन्य सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । अन्य सांसदहरुको शपथ ग्रहण कार्यक्रम प्रदेशसभा सचिवालयमा हुनेछ ।

अन्य सदस्यहरुको शपथ ग्रहण पश्चात प्रदेश सरकारले प्रदेशको आगामी अधिवेशनको सुरुवात गर्नेछ । सरकारको शिफारिसमा प्रदेश प्रमुख मार्फत् प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछन् । आयोगले निर्वाचनको अतिन्म परिणामसहितको प्रतिवेशन सार्वजनिक गरेको २० दिन भित्र प्रदेशसभाको बैठक आह्वान गरिसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । उक्त अधिवेशनको ढुंगानाको अध्यक्षता गर्नेछन् ।

प्रदेशसभाको उक्त अधिवेशनले सभामुख र उपसभामुखको निर्वाचनको कार्यक्रम तय गर्नेछ । प्रदेशसभाको अधिवेशन पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Facebook Comments Box