हिमआँधीका कारण अमेरिका र क्यानडाका दर्जनौं सहरमा जनजीवन निकै प्रभावित

काठमाडौँ, १२ पुस – हिमआँधीका कारण अमेरिका र क्यानडाका दर्जनौं सहरमा जनजीवन निकै प्रभावित भएको छ । अधिकारीहरूले कपितय सहरमा हजारौं मानिसहरू बिजुलीबिना घरमै फसिरहेका अनुमान गरेका छन् । चिसो हुरीका कारण दर्जनौं स्थानमा बिजुली अवरुद्ध भएको जनाइएको छ । तीमध्ये कतिपय स्थानमा बिजुली पुनर्स्थापित भइसकेको बीबीसीले जनाएको छ ।

समाचार संस्था एपीले करिब २ लाख मानिस अझै पनि बिजुलीबिना बाँचिरहेका जनाएको छ । केही दिनअघि त्यस्तो संख्या केही दिन अगाडि १७ लाखभन्दा बढी थियो । मौसम पूर्वानुमानकर्ताहरूले केही दिनसम्म अवस्था सुधार नहुने भन्दै मानिसहरूलाई अनावश्यक यात्रा नगर्न सुझाव दिएका छन् । मौसमका कारण सयौं उडानहरू रद्द भएका र कपितय क्षेत्रमा सडक यातायात अवरुद्ध भएका जनाइएको छ ।

क्रिसमसका बेला आफ्ना घरपरिवार तथा आफन्तजन भेट्न आतुर धेरै मानिसहरू प्रभावित भएका छन् । न्युयोर्क राज्यकी गभर्नर केथी होचलले ‘बफेलो सहरले इतिहासकै विनाशकारी आँधीको सामना गरिरहेको’ जनाएकी छन् । ‘युद्ध भूमिमा गएजस्तो भएको छ,’ उनले भनिन् ।

बफेलो सहरका मानिसहरूलाई अवस्था खतरनाक भएकाले घरभित्रै बस्न सूचना जारी गएिको उनको भनाइ छ । न्युयोर्कको पश्चिममा पर्ने एरी काउन्टीमा मात्रै १२ जनाले ज्यान गुमाइसकेका उनले जनाइन् । तीमध्ये केहीको गाडीभित्रै मृत्यु भएको थियो । त्यसैगरी भर्मन्ट, ओहायो, मिसोरी, विस्कन्सिन, कान्सस र कोलोराडोमा पनि चिसोका कारण मानिसहरूले ज्यान गुमाएका छन् ।

अमेरिकाको पश्चिमी राज्य मोन्टानाको तापक्रम माइनस ४५ डिग्री सेल्सियसमा झरेको छ । न्यु इंग्ल्यान्ड, न्युयोर्क र न्युजर्सीमा तटीय बाढी आएको छ । प्यासिफिक नर्थवेस्टका केही बासिन्दाले सियाटल र पोर्टल्यान्डमा हिउँ जमेका सडकमा आइस–स्केट गरेका देखिएको बीबीसीले उल्लेख गरेको छ ।

सामान्यतः हलुका चिसो महसुस हुने दक्षिणी राज्यहरू लुजियाना, अलाबामा, फ्लोरिडा र जर्जियामा पनि चिसो निकै बढ्न सक्ने चेतावनी दिइएको छ । त्यस्तै, क्यानडाका ओन्टारियो र क्युबेक प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन् । क्युबेकमा हाल १ लाख २० हजार घरमा बिजुली अवरुद्ध रहेको र त्यो मर्मत गर्न अझै केही दिन लाग्ने अधिकारीहरूले जनाएको छ ।

अमेरिका र क्यानडामा गरी हालसम्म २० करोडभन्दा बढी प्रभावित भइसकेको जनाइएको छ । वायुमण्डलीय चाप घटेपछि दुई देशको सीमा क्षेत्रका ठूला तालमा बरफसहित तुफानको अवस्था उत्पन्न भएको बीबीसीले उल्लेख गरेको छ ।

Facebook Comments Box