आज पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना

काठमाडौँ, २४ कात्तिक – पश्चिमी वायुको प्रभावले आज पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पनि पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

आज अपराह्नतिर काठमाडौं उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना देखिएको महाशाखका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। ‘तर त्यो सम्भावना निकै कम छ’, उनले भने। यसबाहेक आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ। देशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

महाशाखाले  देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनु अनुराेध गरेकाे छ ।

Facebook Comments Box