विराटनगर महानगरमा एमालेका प्रमुख र उपप्रमुख उम्मेदवार टुंगो लाग्याे

विराटनगर, १२ वैशाख – नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ ।

विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै थापाले टिकट पाएका हुन् ।

थापा दुई महिना अघिदेखि नै चुनावको तयारीका लागि भन्दै घरदैलो अभियानमा थिए । ‘उम्मेदवार फाइनल भएको जानकारी फोनमा आयो,’ उनले सोमबार बिहान भने । उनले आज दिउँसो उम्मेदवारी मनोनयन दर्ता गर्ने बताए ।

नेकपा एमालेले उम्मेदवारको टुंगो लगाए पनि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन । कांग्रेसबाट नागेश कोइराला, भीम पराजुली र अमृत अर्याल मेयरको प्रमुख दाबेदार छन् ।

गठबन्धनमा रहेका दलहरुले भागबन्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो । जसपाले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयरमा अघि सार्ने तयारी गरेको छ ।

Facebook Comments Box