बढी भाडा असुल गर्ने १९ सवारी साधनलाई कारबाही

काठमाडौँ, १२ कात्तिक – चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १९ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही गरेको छ । बढी भाडा लिएका सवारीलाई पाँच हजारका दरले जरिवाना गर्नुका साथै बढी लिएको रकम फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालय तनहुँका ट्राफिक प्रमुख राजीव विष्टले जानकारी दिनुभयो ।

सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरी भाडा फिर्ता गराएको हो । बढी भाडा लिने सवारीमा माईक्रो बस रहेको ट्राफिकले जनाएको छ ।

दमौलीबाट काठमाडौँको भाडा छ सय ५० निर्धारण गरेको भए पनि आफू खुसी रु.आठ सय देखि एक हजारसम्म यात्रुसँग भाडा लिने गरेको भेटिए पछि कारबाही गरिएको ट्राफिक प्रमुख विष्टले जानकारी दिनुभयो । ‘सर्वसाधारणको गुनासो आउन थालेपछि हामीले पृथ्वी राजमार्गका विभिन्न भागमा छड्के जाँच गरेर सार्वजनिक सवारीसाधनले लिने गरेको बढी भाडा फिर्ता गराउने गरेका छौं विष्टले भन्नुभयो, शुक्रवार मात्रै १९ माइक्रो बसलाई कारबाही गरिएको छ’ ।

विभिन्न स्थानका लागि छुटेका सवारीसाधनलाई रोकी कति भाडा लिएको छ भनी यात्रुसँग सोध्दा बढी भाडा लिएको बताएपछि तोकिएको भाडा भन्दा बढी रकम फिर्ता गर्न लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box