पूर्व राज्यमन्त्री सञ्जय साहको जन्मकैद फैसला उच्च अदालतद्वारा सदर

काठमाडौँ, ५ असोज – सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा पूर्व राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाको जन्मकैदको फैसलालाई नै उच्च अदालत जनकपुरले सदर गरेको छ।

संचार उद्यमी सिंहानिया हत्याको मुख्य योजनाकार सञ्जय साहलाई जन्मकैदको सजाय दिने फैसलालाई सदर गरेको हो। न्यायधिश प्रमोदकुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्ला अदालत धनुषाको फैसलालाई नै सदर गर्दै फैसला सुनाएका छन्।

उच्च अदालत जनकपुरका राजिष्टार खडगराज अधिकारीका अनुसार उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादवले बहस गरेका थिए भने जाहेरबालाको तर्फबाट आधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्की बहस गरेका थिए।

प्रतिवादी सञ्जय साहको तर्फबाट बरिष्ठ आधिवक्ता सुरेन्द्र महतो, बरिष्ठ आधिवक्ता श्यामकुमार मिश्र, बरिष्ठ आधिवक्ता धर्मेन्द्र शर्मा, आधिवक्ता प्रकाश कुमार घिमिरे, ओम प्रकाश सिंघ र दिपेन्द्र सिंघसहित ६ जनाले वकालत गरेका थिए।

संचार उद्यमी सिंघानियाको हत्या २०६६ फागुन १७ गते होलीकै दिन जनकपुरधामको शिवचोकमा गोली हानी हत्या गरिएको थियो । सिंघानिया हत्याको मुद्दामा जिल्ला अदालत धनुषाले २०७६ असार १७ गते सञ्जय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो।

साहले फैसलाप्रति असंतुष्टी जनाउँदै २०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए। पूर्व राज्यमन्त्री साह अहिले नख्खु कारागारमा छन्।

Facebook Comments Box