आज र भोलि देशभर व्यापक वर्षा हुने सम्भावना
काठमाडौं, ३१ भदौ – आज र भोलि देशभर व्यापक वर्षा हुने मौसमविद्ले बताएका छन्। वर्षा बढेसँगै बाढी, पहिरो तथा डुबानको जोखिम पनि हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा नेपालको पश्चिमी क्षेत्रनजिक आइपुग्ने र सँगै मनसुन न्यून चापीय रेखा पनि बिस्तारै नेपालको तराई नजिक आइपुग्ने हुनाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय भएको हो। मनसुन सक्रिय हुनु भनेको वर्षाको मात्रा बढ्नु हो।
मौसमविद् हीरा भट्टराईका अनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यसैगरी राति पनि देशभर सामान्यतयादेखि पूर्णतया बदली रहनेछ। लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
देशभरसँगै काठमाडौं उपत्यकामा पनि आज दिनभर मौसम बदली हुने भएकाले घाम लाग्ने सम्भावना नरहेको मौसमविद् भट्टराईले बताए। ‘काठमाडौं उपत्यकामा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाले आगामी २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन -चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र सोको कारणले पहाडी तथा भिरालो जमिनमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

