भारतलाई ३-० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश

काठमाडौं, २८ भदौ – बंगलादेश समूह विजेताको रुपमा छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो ।

बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन्। बंगलादेशको यो जित ऐतिहासिक जित समेत हो । महिला साफको इतिहासमा भारतले पहिलो पटक हार व्यहोरेको छ ।

साविक विजेताविरुद्ध खेलको १२ औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । सरकारले २२ औं मिनेटमा गोल गर्दा बंगलादेश २-० ले अघि रह्यो ।

खेलको ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-० को जित दिलाइन । यस जितसँगै बंगलादेश अपराजित रहदै अन्तिम चारमा पुगेको छ ।

समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोड्यो । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ ।

समूह ‘बी’ मा नेपाल समूह विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

 

Facebook Comments Box