बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिकरूपमा टाट पल्टने अवस्थामा

काठमाडौँ, ३१ साउन – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १ अर्ब ४१ करोड रुपैयाँ ऋणमा डुबेको छ। प्रतिष्ठान ऋणमा डुबेपछि अस्पतालले श्वेतपत्र जारी गरेको छ।

प्रतिष्ठान आर्थिकरूपमा टाट पल्टने अवस्था आएपछि रजिष्ट्रार डा. सूर्यप्रसाद संग्रौलाले श्वेतपत्र जारी गरेका छन्। उनी केही दिनअघि मात्रै रजिस्ट्रारमा नियुक्त भएका हुन् ।

श्वेत पत्रमा भनिएको छ ‘आर्थिक अवस्था नाजुक भएको कारणले प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको छ।’

श्वेत पत्रमा ‘प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरूमा निराशा उत्पन्न भई पलायन हुने अवस्था सिर्जना भएको’ उल्लेख छ।

रजिस्ट्रार संग्रौलाले प्रतिष्ठानको पछिल्लो ४ आर्थिक वर्षको आयव्यय पनि सार्वजनिक गर्दै बीपी प्रतिष्ठानको खस्कँदै गएको आर्थिक अवस्थालाई स्पष्ट पार्न र जनतालाई देखाउन श्वेत पत्र सार्वजनिक गरेको बताएका छन्।

एक शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न नसकेका कारण १ अर्ब भन्दा बढि आम्दानी घटेको छ। आम्दानी घट्दा समेत सरकारले बजेट नपठाएको तर कर्मचारी हटाउन नसकेका कारण प्रतिष्ठान घाटामा गएको जनाइएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा कोभिड महामारी सुरु भएपछि प्रतिष्ठानको आम्दानीलाई असर पुगेको श्वेत पत्रमा उल्लेख छ।

श्वेत पत्रमा आर्थिक वर्ष २०७५/०७६ मा प्रतिष्ठान २९ करोड ४३ लाख ऋणात्मक भएको उल्लेख छ। सो वर्ष आन्तरिक आय र नेपाल सरकारबाट समेत गरी २ अर्ब १९ करोड ८५ लाख आम्दानी गरेको प्रतिष्ठानले उक्त वर्ष सञ्चालन खर्चतर्फ २ अर्ब ४९ करोड २८ लाख रुपैयाँ खर्च गरेको थियो।

आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ९१ करोड ६ लाख आम्दानी भएकोमा खर्च भने २ अर्ब ८२ करोड ४९ लाख भएको थियो। सो वर्षमा प्रतिष्ठान ९१ करोड ४३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको थियो।

आर्थिक वर्ष २०७८/०७९ मा आम्दानी २ अर्ब ७१ करोड ४४ लाख भएकोमा खर्च भने ३ अर्ब १२ करोड ४४ लाख भएको छ। सो वर्ष पनि प्रतिष्ठानलाई ४१ करोड ऋण लागेको थियो।

शैक्षिक सत्र २०१९ देखि चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेर शैक्षिक कार्यक्रमको सिट संख्या तथा शुल्क समेत निर्धारण गर्दा आम्दानी घटेको श्वेत पत्रमा उल्लेख छ।

बीमा बोर्डबाट दाबी गरेअनुसारको रकम भुक्तानी नपाउँदा पनि समस्या भइरहेको रजिस्ट्रार संग्रौलाले बताए। उनले जारी गरेको श्वेत पत्रमा बीमा बोर्डबाट अझै ३० करोडभन्दा बढी रकम पाउन बाँकी रहेको उल्लेख छ।

Facebook Comments Box