धुलिखेल–खावा सडक खण्डमा राति यातायात बन्द हुने

काभ्रेपलाञ्चोक, ३० फागुन – अरनिको राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको धुलिखेल–खावा सडक खण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिइँदै कालोपत्रे गर्ने तयारीसँगै आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायात सञ्चालन बन्द गरिने भएको छ।

निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता भएपछि कामलाई पुनः तीव्रता दिइएको हो। सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कार्य सञ्चालनका लागि उक्त अवधिमा राति यातायात रोकिने जनाएको छ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुनम योगेश का अनुसार चैत ७ गतेदेखि २० गतेसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। सोही समयमा यात्रुवाहक बस सञ्चालन पनि बन्द गरिने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

त्यस्तै टिपर, ट्रक लगायत मालवाहक सवारी साधन (पास लिएकासमेत) लाई भने उक्त सडक खण्डमा चौबिसै घण्टा सञ्चालन गर्न रोक लगाइएको छ। निर्माण कार्यमा ढिलासुस्ती हुँदा पछिल्ला तीन वर्षदेखि उक्त राजमार्गमा यात्रा कष्टकर बन्दै आएको छ। पुरानो ठेक्का रद्द भएपछि गत साउनमा पुनः बोलपत्र आह्वान गरी नयाँ कम्पनीलाई चार किलोमिटर सडक स्तरोन्नतिको जिम्मा दिइएको थियो।

यसअघि कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिनाभित्र अर्थात् २०८० चैत १९ भित्र निर्माण सम्पन्न गर्ने गरी करिब २० करोड १९ लाख रुपैयाँमा ठेक्का लिएको थियो। तर तोकिएको समयमै काम सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको हो।धुलिखेलदेखि खावासम्मको यो सडक तातोपानी नाका हुँदै चीनसँगको उत्तरी सीमा तथा दोलखा, रामेछाप लगायत जिल्लातर्फ जाने मुख्य मार्गका रूपमा प्रयोग हुँदै आएको छ।

निर्माण कार्य ढिलाइ हुँदा यात्रुहरू धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य हुँदै आएका छन्। सडकलाई बलियो बनाउन ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित बेस हाल्ने र त्यसपछि दुई चरणमा डिबिएम तथा आस्फाल कालोपत्रे गर्ने योजना कार्यालयले बनाएको छ। निर्माणका क्रममा भत्काइएका सडकका कारण विगतमा दुर्घटनासमेत भइसकेकाले काम छिटो सम्पन्न गर्न दबाब बढेको छ।

Facebook Comments Box