बागडोलमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते

काठमाडौँ, ३० साउन – ललितपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सोमबार दिउँसो ललितपुर महानगरपालिका ४, बागडोलमा बस दुर्घटना भएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको मध्य उपत्यका बस दुर्घटना भएको थियो। दुर्घटनामा नवलपरासी कावासोती नगरपालिका २ घर भई हाल काठमाडौं कलंकी बस्ने २५ वर्षीया सुगम थापा, काठमाडौं किर्तिपुर नगरपालिका ८ की ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरी धरान उप महानगरपालिका २० घर भई हाल काठमाण्डौ कीर्तिपुर बस्ने ३३ वर्षीया सन्ध्या राई र दोलखा घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने ३० वर्षीया सबिना खड्का घाइते भएका छन्।

यस्तै, ललितपुर महानगरपालिका १४ नखिपोटका ३० वर्षीय उदेश्य वाग्ले, सिन्धुपाल्चोक घर भई हाल ललितपुर महानगरपालिका ४ धोविघाट बस्ने ५९ वर्षीय जित बहादुर पोखरेल, रामेछाप घर भई हाल भक्तपुर सूर्य बिनायक बस्ने ४५ वर्षीय खड्ग बहादुर थापा र कलंकीका ६७ वर्षीय खिलबहादुर भण्डारी घाइते भएका छन्। उनीहरु बोल्नसक्ने अवस्थामा रहेको र हाल स्टार अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box