देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं , १५ साउन – अहिले काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले दिएको जानकारीअनुसार यतिबेला बागमती, गण्डकी, लुम्बिनी र प्रदेश १ का एक दुई स्थानमा पानी परिरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति देशका पहाडी भेगमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसमविद् मानन्धरका अनुसार मनसुनको न्यून चापीय रेखा जताजता जान्छ उतै वर्षाको सम्भावना बढी हुन्छ। ‘अहिले देशको पूर्वतर्फ न्यून चापीय रेखा नर्मल स्थानभन्दा केही उत्तर (नेपालतर्फ) छ, त्यसैले पूर्वतर्फका प्रदेशमा भारी वर्षाको सम्भावना भएको हो’, उनले भनिन्, ‘पश्चिमतर्फ चाहिँ न्यून चापीय रेखा नर्मल स्थान आसपास रहेकाले त्यता भारी वर्षाको सम्भावना छैन।’

