नेकपाकालीन पाँचजना नेता फेरि वार्ताका लागि जुटे
काठमाडौँ, ३ साउन – खारेजीमा परेको तत्कालीन नेकपाकालीन पाँचजना नेता फेरि वार्ताका लागि जुटेका हुन्। नेकपा हुँदा पाँचजना सचिवालय सदस्यहरु सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालयमा छलफलका लागि जुटेका हुन्।
नेकपाकालीन सचिवालयका ५ नेता एकै ठाउँमा उक्त बैठकमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जुटेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफलपछि नेकपाकालीन नेताहरुसँग जुटेका हुन्। उक्त बैठकमा वाम दलहरु मिलेर समाजवादी केन्द्र बनाउने बाबुरामको प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ।
यसअघि यी नेताहरु प्रचण्डका नातेदार पर्ने एक व्यक्तिको घरमा जुटेका थिए। त्यसैगरी नेपाली कांग्रेससँगको चुनावी तालमेलका लागि सिट बाँडफाँटसम्बन्धी एजेन्डाबारे पनि बैठकमा कुरा हुने स्रोतले जनाएको छ।
त्यसैगरी पछिल्लो समय वाम एकताको पक्षमा रहेका माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको प्रस्तावसहितका विषयमा पनि कुरा हुने बताइएको छ। कांग्रेसले मंगलबार आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्ने निर्णय लिइसकेको छ। तर सकेसम्म एमालेसँग नभए अन्य वाम शक्ति मिलेर तालमेल गर्न सकिने विकल्पमा दलहरु छलफलमा छन्।

