आजदेखि तीन दिनसम्म देशभर वर्षा हुने सम्भावना

काठमाडौँ, ३ साउन – आजदेखि तीन दिन अर्थात् बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले तीन दिन देशभरि वर्षा हुने सम्भावना देखिएको हो।

अहिले पनि प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिइन्। ‘काठमाडौंमा भने भर्खर वर्षा रोकिएको छ’, उनले भनिन्, ‘तर आज दिनभरिलाई वर्षाको सम्भावना छ। बिहीबारसम्म देशभर वर्षा भए पनि त्यस्तो ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद् मानन्धरले बताइन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोकाे मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाको अनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेकाे छ।

Facebook Comments Box