मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट
काठमाडौं, ९ असार – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। न्यायाधीश टंक मोक्तानको आदेशपछि सर्वोच्चले बिहीबार रिट दर्ता गरेको निवेदक अधिवक्ता किशोरकुमार पौडेलले जानकारी दिए।
यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। त्यसविरुद्ध पनि पौडेलले निवेदन दिएपछि मोक्तानको इजलासले दरपीठ बेरितको देखिएको भन्दै बदर गरिदिएको थियो।
रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ। मन्त्री आलेको व्यवहार पटक पटक विवादमा परेको भन्दै पदमा बसिरहन योग्य नरहेको निवेदक अधिवक्ताको जिकिर छ।
‘निज सो पदमा बसिरहन असक्षम रहेको प्रस्ट छ। निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ।
निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाउँ’, रिटमा उल्लेख छ।
आलेजस्ता निर्लज्ज व्यक्ति भविष्यमा कुनै पनि सार्वजनिक पदमा आउन नहुने भएकाले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाउन आदेश यसअघि मन्त्री आलेविरुद्ध पौडेलसहितले नै संघीय संसद सचिवालयमा पनि उजुरी दिएका थिए।
सांसदका रुपमा अमर्यादित गतिविधि गर्दै मन्त्रालयमै अश्लील शब्द बोलेको भन्दै संसद सचिवालयमा परेको उजुरीमाथिको कारबाहीबारे केही जानकारी मिलेको छैन।
मन्त्री आलेले आफ्नो कार्यकालमा पटक पटक विवादमा आउने काम गरेका थिए। उनले पछिल्लो पटक नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई मुख छाड्दै मन्त्रालयमै हातपात पनि गरेपछि विवादमा तानिएका थिए।
आलेले अभद्र व्यवहार गरेको प्रकरणमा आलेलाई मन्त्रीबाट बर्खास्त गर्न माग भइरहेका बेला पीडित भनिएका अधिकारीलाई नै निलम्बन गरेर छानबिन भइरहेको छ।

