नेपाललाई नजानिदो गरी भू राजनीतिक द्वन्द्वतिर धकेल्ने काम वर्तमान सरकारबाट भइरहेको छ।’ : नेकपा एमाले

काठमाडौं, ३० जेठ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति खलबलिँदै गएको निष्कर्ष निकालेको छ। पार्टीको ९ औं केन्द्रीय सचिवालयको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा गम्भीर छलफल भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘हामीले मुलुकको राष्ट्रिय राजनीतिका विभिन्न आयमहरुको बारेमा छलफल गर्यौं। वर्तमान सरकारले हाम्रो बाह्य नीतिमा जुन किसिमको विचलन ल्याउँदै गएको छ,’ उनले बैठकपछि सञ्चारकर्मीहरुसँग भने, ‘हाम्रो स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति जसरी खलबलिँदैछ, नेपाललाई नजानिदो गरी भू राजनीतिक द्वन्द्वतिर धकेल्ने काम वर्तमान सरकारबाट भइरहेको छ।’

यसबारे आजको बैठकमा गम्भीरताका साथ छलफल भएको भन्दै यसका आयामहरुका बारेमा पनि छलफल भएको उनले बताए। ‘त्यसको बारेमा बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ। यसको आवश्यक्ता अनुसार आलोचना, विरोध गर्ने र नेपालको स्वतन्त्रता, सार्वभौमिकतामाथि आँच आउने कुनै काम गर्न नदिने निष्कर्ष निकालेका छौं’ ज्ञवालीले भने।

ज्ञवालीका अनुसार आजको बैठकमा मुख्यतः ३ वटा विषयमा केन्द्रित रहेर छलफल भएको थियो। स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयमा छलफल भएको उनले बताए। ‘मुख्यतः ३ वटा कार्यसूचीमा रहेर लामो छलफल गरेका छौं,’ बैठकपछि उनले भने, ‘स्थानीय तह निर्वाचनको समीक्षा, जननिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण र केही विभागहरुमा सदस्यहरु थपघट गर्ने विषयमा छलफल भयो।’

Facebook Comments Box