चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखियाे
तनहुँ, ३० जेठ – तनहुँको बन्दीपुर गाउँपालिका १ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ । शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा आइतबार बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको हो ।
बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर –१ बागदलेमा भिमलाल गरञ्जा घाइते भएका छन् । दुवै आक्रमणको घटना घरमै भएको हो । घाइतेको अवस्था खतरामुक्त रहेको छ । दुवै घाइतेको डुम्रेस्थित मोती मेडिकलमा उपचार गरिएको थियो ।
चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि बाख्रासहितको खोर थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । बन्दीपुरमा केही घण्टाको फरकमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि सतर्कता अपनाउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । दुवै आक्रमणको घटनास्थल २५० मिटर वरपर छ ।
एकचोटी आक्रमण गरेको चितुवाले पुनः आक्रमण गर्न सक्ने सम्भावना भएकाले सतर्क रहन कार्यालयले आग्रह गरेको छ । सहायक वन अधिकृत काशीराज पण्डितले उक्त चितुवाले फेरि मानिसलाई आक्रमण गर्ने सम्भावना भएकाले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरे ।

