आईजीपी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेसी

काठमाडौँ, ३० जेठ – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ। सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन्।

यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन। अवकाश भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी आजलाई पेसी तोकिएको थियो।

हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेमा अब रिटको छिनोफानो हुने छ। यसअघि वैसाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेसी तोकेको थियो। १७ गते न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परे पनि डीआईजीको मुद्दामा म्याद तामेलि नहुँदा सुनुवाइ रोकिएको थियो।

हिले म्याद तामेल भइसकेको छ। आईजीपीको रिटमा पनि लिखित जवाफ बुझाइसकेका छन्। सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन्। सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए।

सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उनी राजीनामा दिने तयारीमा छन्। एआईजीको उमेर हदका कारण साउन २० गते अनिवार्य अवकास हुनेछन्।
सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले विदा अस्वीकृत भए पनि हाजिर भएका छैनन्। २४ गते नै उनको बिदा सकिएको हो।

वैसाख १९ देखि बिदामा थिए। बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले मिसिलमा बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन्।

Facebook Comments Box