भारतले विष्फोटक पदार्थ निर्यातमा बन्देज लगायाे, विकास निर्माणकाे काममा बाधा पर्नसक्ने

काठमाडौं, ४ वैशाख – भारतले विष्फोटक पदार्थ निर्यातमा बन्देज लगाएको छ । यसले नेपालमा निर्माणाधीन सडक, जलविद्युत् तथा तथा सुरुङमार्ग परियोजनाहरु प्रभावित हुने भएका छन् ।

विष्फोटक पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो । यसलाई ‘सिभिल एक्सप्लोसिभ’ पनि भनिन्छ । भारतमा पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले यस्ता पदार्थको नियमन गर्छ । सो संगठगनले अनिश्चितकालका लागि निर्यात नगर्न निर्देशन जारी गरेको छ ।

भारतमा पछिल्ला दिनमा विष्फोटक पदार्थको अभाव छ । विष्फोट पदार्थको अभावले खानीको उत्खनन तथा पूर्वाधार निर्माणको काम प्रभावित भएपछि भारतले ३० चैतदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निर्यात रोकेको हो । अहिले भारतमा विष्फोट पदार्थको मूल्यमा पनि भारी वृद्धि भएको छ ।

यो रोकका कारण काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजना, उत्तरदक्षिण करिडोर, विभिन्न रणनीतिक सडक आयोजना, सिद्धबाबा सुरुङमार्ग, जलविद्युत् परियोजनाहरु प्रभावित हुने जोखिम छ । सुरुङ खन्न र ठूला चट्टान फोड्न प्रयोग हुने यस्ता विष्फोटक पदार्थ प्रयोग हुन्छन् ।

विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भीरफोर्नेलगायतका काममा उपयोग गरिन्छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले विष्फोटक पदार्थको निर्यातमा कुनै पनि मुलुकले रोक लगाएकोबारे जानकारी प्राप्त नभएको बताए ।

नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनाचुरीमा इमल्सन प्लान्टले सञ्चालनमा छ । सेनाले अहिले दैनिक १० मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन गर्छ ।

‘दैनिक कति विष्फोटक पदार्थको माग छ भन्ने हामीलाई जानकारी छैन, तर कुनै परियोजनाले विष्फोटक पदार्थ आफैंले आयात गर्न चाहेमा ढुवानी, सुरक्षा र भण्डारणको सेनाले गर्छ,’ उनले भने, ‘कुनै पनि परियोजनाले त्यस्तो अनुमति मागेमा हामी दिन्छौं ।’ हाल नेपालमा वार्षिक पाँच हजार मेट्रिक टन विष्फोटन पदार्थ आवश्यक पर्ने एक अध्ययनले देखाएको छ ।

Facebook Comments Box