प्रदेश–१ काे वार्षिक नीति तथा कार्यक्रमको छलफल सकियो

काठमाडौं, २७ जेठ – प्रदेश–१ प्रदेशसभाको आज भएको दशौँ तथा बजेट अधिवेशनको पाँचौ बैठकमा आर्थिक वर्ष २०७९÷८० वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलले निरन्तरता लिएको छ । छलफलमा भाग लिँदै सदस्यहरुले आफ्नो सुझाव एवं आलोचनात्मक समर्थन गर्नुभएको छ ।

छलफलमा प्रदेश–१ का पूर्वमुख्यमन्त्री शेरधन राईले अघिल्लो सरकारले गरेका कोभिड–१९ मा जनताको स्वास्थ्य सुरक्षा, प्रदेश सरकारको जग बसाल्न पूर्वाधार निर्माण र कानून निर्माणजस्ता कुराको जस लिन वर्तमान सरकारले नीति कार्यक्रममा उल्लेख गरेको आरोप लगाउनुभयो ।

उहाँले अघिल्लो सरकारले जनताको सेवा सुविधाका लागि विभिन्न जिल्लामा स्थापना गरेको कार्यालय बन्द गरेकोमा असन्तुष्टि व्यक्त गर्दै वर्तमान सरकारले विभिन्न निर्माणका आयोजना स्वार्थअनुसार छानीछानी छनौट गरेको आरोप लगाउनुभयो ।

उहाँले जनताले अनुभूति गर्ने विकास निर्माणको कार्यबाट मुलुकमा प्रदेश र सङ्घीयता बलियो हुने चर्चा गर्दै प्रदेश सभासदस्यसँग परामर्श गरी बजेट निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । नीति तथा कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्यहरुले कृषकका उत्पादनको बजारीकरण गर्नुपर्ने, नेपाली कागज उत्पादन वृद्धिका आवश्यक नीति ल्याउनुपर्ने, पहाडी क्षेत्रका नदीमा वेलीव्रज राख्नुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।

यसैगरी उहाँहरुले युवा लक्षित कार्यक्रम ल्याउनु पर्ने, ग्रामथानमा शिलन्यास गरिको ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि बजेटको व्यवस्था हुनुपर्ने, धनकुटामा १०० शैयाको अस्पताल विस्तार गर्नुपर्ने, प्रदेशको समृद्धि सम्वन्धमा नीति तथा कार्यक्रममा उल्लेख गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सुझाव दिने २० प्रदेशसभा सदस्यमा अम्विका थापा, उत्तमकुमार बस्नेत, उषाकला राई, जीवन घिमिरे, तुलसीप्रसाद न्यौपाने, पूर्णप्रसाद राई(याम्फु), बलबहादुर साम्सोहाङ, बिमल कार्की, वुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का, यशोधा अधिकारी, राजकुमार ओझा, रामबहादुर मगर, रामचन्द्र लिम्वु, लछुमन तिवारी, लीला सुव्वा, लोकप्रसाद सङ्ग्रौला, सन्जाकुमारी दनुवार, सरिता थापा र सावित्री जोशी हुनुहुन्थ्यो ।

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल आजदेखि समाप्त भएको छ । यसैगरी, शून्य समयमा बोल्दै विजयकुमार विश्वासले मोरङको गिदनिया–मोतिपुर सडक निर्माणतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो । प्रदेशसभाको अर्को वैठक जेठ २९ गते दिनको १ बजे वस्ने सभामुख प्रदीपकुमार भण्डारीले सदनलाई जानकारी दिनुभयो ।

Facebook Comments Box