रुपन्देहीमा पुलबाट तल खोलामा बस खसेर नौ जनाको मृत्यु,२३ जना घाइते
काठमाडौँ, २२ जेठ – रुपन्देहीमा यात्रु बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २३ जना घाइते भएका छन्। आज बिहान करिब साढे चार बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा बस दुर्घटना भएको हो।
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी खोलाको पुलबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ। दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
रोहिणी पुलको रेलिङ भाँच्दै बस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

