काठमाडौं महानगरपालिकामा बालेन्द्र साह र सुनिता डंगोल विजयी

काठमाडौं, १३ जेठ – काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

को हुन् बालेन ?

३१ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी र्‍यापरका रूपमा पनि चर्चित छन् । काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए । नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्‍यापर तथा कवि–लेखक साहको जितलाई कमैले आकलन गरेका थिए । तर पुराना राजनीतिक दलहरुलाई चुनौती दिंदै उनी काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका छन् ।

सुरुवातमा विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका थिए । पछि क्रमशः अन्य क्षेत्रका अगुवाहरु पनि उनको पक्षमा खुल्दै गए ।

मेयरका अर्का प्रतिस्पर्धी केशव स्थापितले उनलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिन थालेपछि साह झनै चर्चामा आए । उनले स्थापित आफ्नो ब्राण्ड एम्बेसडर भएको अभिव्यक्ति दिएका थिए ।

आफ्नो इञ्जिनियरिङ पृष्ठभूमिका कारण काठमाडौंको विकासका लागि आफू योग्य उम्मेदवार भएको उनको बुझाइ थियो । ‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ, थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु’ उनले भनेका थिए, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ, मैले निर्वाचित भएपछि गर्ने काम भनेको पनि तिनै विषयमा केन्द्रित हुनेछ ।’

सुनिता डंगोल
काठमाडौं महानगरको उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोलले सन् २०११ की मिस नेवा हुन् । उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरेकी छन् । लिपि क्विनको नामले पनि चिनिने डंगोलले संसारका एक दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेकी छिन् । उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।

प्रतिभाशाली युवा नेतृ उनले सुरुमा काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मेयरको आकांक्षीका रुपमा उनले प्रचारप्रसार पनि तीव्र पारेकी थिइन् ।

तर एमाले अध्यक्ष केपी ओलीले उनको एउटा अन्तर्वार्ता सुनेपछि भेट्न बोलाएका थिए । त्यसपछि उनलाई नेकपा एमालेबाट उपमेयरमा उठ्न प्रस्ताव गरिएको थियो ।

विगतमा काठमाडौंका निवर्तमान मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा पनि काम गरिसकेकी उनी अन्तिम समयमा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनिन् ।

नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाक्कलामा पनि पोख्त छिन् । आफ्नो प्रस्तुतिका कारण पनि उनी युवा पुस्ताबीच चर्चाको पात्र बनेकी छिन् ।

नेकपा एमालेले काठमाडौं उपत्यकामा स्वतन्त्र र युवा उम्मेदवारप्रति मतदाताको आकर्षणलाई ध्यान दिएर उनलाई उपमेयरको उम्मेदवार बनाएको अनुमान गरिएको थियो । हुन पनि उनी ठूलो मतअन्तरले उपमेयरमा विजयी भइन् ।

Facebook Comments Box