विश्वकप क्रिकेट लिग टू अन्तर्गत आसन्न त्रिकोणात्मक श्रृङ्खलाका लागि राष्ट्रिय टोली घोषणा

काठमाडौं, ४ जेठ – पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दै नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्रिकेट लिग टू अन्तर्गत आसन्न त्रिकोणात्मक श्रृङ्खलाका लागि राष्ट्रिय टोली घोषणा गरेको छ ।

फागुनमा युएई र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक श्रृङ्खलामा टिममा रहेका ज्ञानेन्द्र त्यसयता पीएनजीसँगको एकदिवसीय र टी–२० तथा अघिल्लो साता सम्पन्न जिम्बावे ‘ए’टिमसँगको एकदिवशीय र टी–२० श्रृङ्खलामा टिममा समावेश थिएनन् ।

नेपालको टिममा सुनील घमलाले कमब्याक गरेका छन् । सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत त्रिवि मैदानमा केन्याविरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेयता सुनीलले राष्ट्रिय टोलीमा अवसर पाएका थिएनन् ।

अघिल्लो साता जिम्बावे ‘ए’सँगको श्रृङ्खलामा राम्रो प्रदर्शन गरेपछि उनलाई टिममा बोलाइएको छ । पीएनजीसँगको श्रृङ्खलामा डेब्यू गरेका आदिल अन्सारी पनि एकदिवसीय अन्तर्राष्ट्रियका लागि पहिलोपल्ट टिममा परेका छन् ।

युवा तीव्र बलर किशोर महतोले पहिलोपल्ट जिम्बावे ‘ए’सँगको श्रृङ्खलामा राष्ट्रिय टोलीबाट अवसर पाएका थिए । उनलाई पनि १५ सदस्यीय नेपाली टिममा समावेश गरिएको छ । पीएनजीविरुद्ध नेपालमै भएको एकदिवशीय श्रृङ्खलामा दुई महिनाअघि राष्ट्रिय टोलीबाट डेब्यू गरेका रुपन्देहीका देव खनालले निरन्तरता पाएका छन् ।

उनी जिम्बावे ‘ए’सँगको श्रृङ्खलामा पनि टिममा थिए । नेपालले जेठ २५ देखि असार ५ सम्म अमेरिकामा ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्दैछ ।

विश्वकप लिग टूलाई अर्कोवर्ष भारतमा हुने एकदिवशीय विश्वकपको छनोट प्रक्रियाका रुपमा हेरिएको छ । ७ टोली सम्मिलित लिगमा नेपाल अहिलेसम्म १२ खेलबाट ६ जितसहित छैठौं स्थानमा छ ।

नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, सोमपाल कामी, करण केसी, विक्रम सोव, किशोर महतो, सागर ढकाल ।

Facebook Comments Box