जर्मनीले कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन नेपाल सरकारलाई प्रदान

काठमाडौं, ३ फागुन – जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदूत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन्।

राजदुत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए। उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्तखोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताए।

मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा जेष्ठनागरीकमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। ‘हामी जेष्ठ नागरिकलाई प्राथमिकता दिन्छौं,’ मन्त्री गिरीले भने। २०७२ सालको विनासकारी भूकम्पको समयमा जर्मनीले स्वास्थ्य पूर्वाधार र अन्य प्राविधिक सहायताको क्षेत्रमा सहयोग गरेको थियो।

त्यस्तै, कोभिड–१९ को महामारीमा समेत जर्मन सरकारले स्वास्थ्य सामग्री, भ्याक्सिन र आर्थिक सहायता प्रदान गरेको थियो। सन् १९५८ देखि नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध कायम भएको हो। यो सम्बन्धले ६५ वर्ष पुरा गरिसकेको छ।

Facebook Comments Box