कांग्रेस नेताले प्रचण्ड-नेपाललाई भने : सरकार छाडेर जानु, चुनावी तालमेलको कुरा नगर्नू
तनहुँ, ८ चैत – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकार छाड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चुनौती दिएका छन्।
तनहुँको आँबुखैरेनीमा मंगलबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारमा सँगै बसेर एमसीसी पारित गराएर अहिले द्वैध चरित्र देखाएको भन्दै आलोचना गरे। ‘सरकारमा सँगै बसेर एमसीसी पारित गर्दा राष्ट्रघाती नदेख्ने, अहिले प्रधानमन्त्रीको आलोचना गर्दै हिंड्ने?’, उनले प्रश्न गरे।
उनले यदि एमसीसीलाई राष्ट्रघाती नै भन्ने हो भने सरकार छाड्न र चुनावी तालमेलको कुरा नगर्न चेतावनी दिए। एमसीसी पास पनि गर्ने अनि राष्ट्रघाती भन्ने तर चुनावमा तालमेलको कुरा गर्न सुहाउँछ उनले प्रश्न गरे।
आँबुखैरेनी-२ मा आयोजित कार्यक्रममा माओवादीबाट विजयी वडा सदस्य धनराज गुरुङसहित ३० कार्यकर्तालाई उनले प्रवेश गराएको पार्टी जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए।
पार्टी वडा सभापति मिलन गुरुङको सभापतिमा भएको कार्यक्रममा पवित्रा गौली, गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, गाउँपलिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, जिल्ला सदस्य केशवनाथ खनाल, आँबुका पार्टी सभापति विष्णु पन्थ, २ का अध्यक्ष कटक थापा र स्थानीय प्रतिनिधि गोविन्द ढकाल, सोलबहादुर चितौरे, विजय गुरुङ, धनबहादुर गुरुङ सहभागी थिए।

