हङकङले नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने
काठमाडौं, ७ चैत – हङकङले नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने निर्णय गरेको छ। सोमबार हङकङ प्रमुख क्यारी लामले आगामी अप्रिल १ बाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गरेकी हुन्।
हङकङले नेपालका साथै अष्ट्रेलिया, क्यानडा, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र अमेरिकामाथिको उडान प्रतिबन्ध पनि हटाउने निर्णय गरेको छ। हङकङले गत फेब्रुअरी ८ मा नेपालबाहेकका ८ मुलुकमाथि प्रतिबन्ध लगाइएको थियो भने फेब्रुअरी १२ मा यो सूचीमा नेपाल पनि थपिएको थियो।
उनले बाहिरबाट आउने मानिसहरुको लागि क्वारेन्टिनको अवधि पनि ७ दिनमा छोट्याइने घोषणा गरेकी छिन्। यद्यपि क्वारेन्टिनमा बस्ने समय भने मानिस आएको मुलुकमा कोरोनाको अवस्था र उसको खोपको जानकारीमा निर्भर रहने लामले बताएकी छिन्।
आगामी अप्रिल २१ बाट हङकङले भौतिक दुरीका नियम पनि केही खुकुलो बनाउन सक्ने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। यद्यपि पुनः कोरोना संक्रमण उकालो लागेको अवस्थामा भने भौतिक दुरीको नियम कायम रहनेछ।
क्यारी लामले सोमबारको सम्बोधनको क्रममा पछिल्लो समय हङकङमा कोरोना संक्रमण पनि सुस्ताएको र विष्फोटक मात्रामा संक्रमण फैलिन छाडेकाले सरकारले कोरोना प्रतिबन्धको निर्णय पनि पुनर्विचार गर्न लागेको बताएकी छिन्। उनले धेरै विशेषज्ञले कोरोनाको यो लहरको उत्कर्ष सकिएको सुझाव दिएको पनि बताएकी छिन्।

