चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने

काठमाडौं, ३ चैत्र – सरकारले आउँदो २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्राले अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिए ।

सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक तयारीका काम भइरहेको छ ।

यो खोप अभियानपछि टाइफाइड विरुद्धको खोपलाई पनि नियमित खोप कार्यक्रममा नै समेट्ने सरकारको तयारी छ । खोप भण्डार केन्द्रको अभावका कारण खोप ल्याउन ढिलाइ भइरहेको थियो । हिजो टाइफाइडविरुद्धको दुई लाख भायल खोप भारतबाट आएको छ । थप खोप पनि ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box