‘हिंसा र विभेद अन्त्य हुनुपर्छ’ : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, १ चैत्र – राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका लागि प्रतिबद्धता जनाउनुभएको छ । उहाँले मानव बेचबिखनविरुद्ध काम गर्दै आएको ‘शक्ति समूह’को टोलीसँगको भेटमा सो कुरा बताउनुभएको हो ।

महिलाले भोग्नुपरेका बोक्सी, छाउपडी, यौन तथा लैङ्गिक हिंसा र सामाजिक विभेद अन्त्यका लागि सरकार प्रत्यक्ष भूमिकामा रहने भन्दै उहाँले शक्ति समूहको माग सम्बोधनका लागि प्रयास हुने बताउनुभयो ।भेटमा शक्ति समूहका अध्यक्ष चरीमाया तामाङले मानव बेचबिखनविरुद्ध जागरणमूलक काम गर्ने उद्देश्यले समूह स्थापनाको २५ वर्ष भएको अवसरमा पाँचौँ महाधिवेशन सम्पन्न गरेको बताउनुभयो ।

सोही महाधिवेशनको निष्कर्षलाई ज्ञापनपत्रका रूपमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको जानकारी उहाँले दिनुभयो ।ज्ञापनपत्रमा मानव बेचबिखनबाट प्रभावित महिला तथा किशोरी र बालबालिकालाई उद्धार, पुनस्थार्पना तथा सामाजिक पुनर्मिलनका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम जस्तै छुट्टै कार्यक्रम बनाउनुपर्ने उल्लेख छ । त्यसैगरी, विभिन्न बहानामा बर्सेनि हराउने महिला, किशोरीको खोजी हुनुपर्नेमा पनि जोड दिइएको छ ।

Facebook Comments Box