७ चैतसम्म सरकारले यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने
काठमाडौं, २९ फागुन – यातायत व्यवसायीले ७ चैतसम्म सरकारले यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।
पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि २७ असारमा समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।
विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले १३३ पुग्दासमेत यथावत हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो । बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन गरिनु आवश्यक भएको उनीहरूको भनाइ छ ।
आइतबार पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिक रूपले भाडादर समायोजन गर्न सरकारसँग माग गरे । ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने उनको चेतावनी छ ।
व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत नौ दशमलव ०३, ट्रक (पहाड) को ११ दशमलव ८२ र ट्रक (तराई)को १३ दशमलव १३ प्रतिशत लागत वृद्धि भएको छ ।
यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत ८ दशमलव ५ प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए ।
गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।