आजदेखि फेरि वर्षा हुँदै, सावधानी अपनाउन आग्रह

काठमाडौँ, १३ चैत : नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार)देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास, चट्याङ तथा असिना पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार मौसममा थप बदली भई वर्षा गराउने प्रणाली सक्रिय हुने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बिहीबार साँझदेखि नै बदली बढ्दै गएको र शुक्रबारबाट विभिन्न स्थानमा वर्षा सुरु हुने छ। बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङनुवाकोटलगायत क्षेत्रमा हल्का वर्षा भइसकेको छ भने आज रातिदेखि यसको प्रभाव अझ बढ्ने जनाइएको छ।

महाशाखाका अनुसार शुक्रबार हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी भूभागमा सामान्य बदली रहनेछ। देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

शनिबार पनि कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलुम्बिनी प्रदेशमा सामान्य बदली रहने तथा केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विभागले विशेषगरी चट्याङ, हावाहुरी र असिनापानीबाट हुन सक्ने क्षतिबाट जोगिन सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

Facebook Comments Box