‘धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकास गर्न आवश्यक’ : गोकुल बाँस्कोटा

बनेपा, ६ फागुन – पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकासको काम गर्न सुझाव दिनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको धुलिखेल नगरपालिकाको ३६औँ स्थापना दिवस कार्यक्रममा उहाँले कला र सीपको हस्तान्तण गर्नुपर्ने भएकाले नगरभित्रको शङ्खुको इँटे र धुलिखेल बजारलाई सिमेन्टको कङ्क्रिट नभई पहिला इँटा छापेको ठाउँमा इँटा तथा ढुङ्गा छापेको ठाउँमा ढुङ्गा नै प्रयोग गर्न आग्रह गर्नुभयो ।

विकासमा कसैले पनि राजनीति गर्नुपर्ने अवस्था नरहेको समेत उहाँको भनाइ छ । उहाँले मान्छे प्रगतिबाट कहिल्यै नअघाउने भएकाले नगरपालिकाले अहिलेसम्ममा प्राप्त गरेका उपलब्धिलाई थप अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

नेता बाँस्कोटाले नेपालको राजनीतिक नेतृत्वको स्ट्राइकर कहाँ छ भनेर खोज्ने बेला आएको उल्लेख गर्दै राजनीति सही बाटोमा अगाडि नबढेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख अशोक व्याञ्जूले आर्थिक वर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्ममा करिब रु दुई अर्ब ९२ करोड ८३ लाख ३० हजार बजेट भएकामा रु दुई अर्ब ७९ करोड ४१ लाख ४८ हजार खर्च भएको बताउनुभयो ।

नगरपालिकाको नेतृत्व लिएपछि नगरभित्रमा ३४ किमी सडक कालोपत्र भएको जनाउँदै उहाँले पाँच किलोमिटर ढलान, ७१ किलोमिटर ग्राभेल र ३२० किलोमिटर कच्ची सडक निर्माण भएको बताउनुभयो । उहाँले सो अवधिभित्र नगरपालिकाले दुई हजार ५१९ घरधुरीमा थप धारा जडान गरी कूल पाँच हजार ७१६ घरधुरीमा खानेपानी सुविधा उपलब्ध गराएको जानकारी दिनुभयो ।

त्यस्तै साना–ठूला गरी ५१ उद्यान, दुई ट्रिटमेन्ट प्लान्ट र दुई झोलुङ्गे पुल निर्माण गरेको जनाइएको छ । त्यस्तै नगरपालिकाले धुलिखेलस्थित क्याम्पसमा स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्नाका साथै काभ्रेभञ्ज्याङमा १५ शय्याको अस्पताल निर्माणाधीन रहेको उहाँले सुनाउनुभयो ।

नगरपालिकाको १२ वडामध्ये आठ वडा कार्यालयमा एकीकृत इन्टरनेट सेवा प्रवाहका लागि आफ्नै फाइवर जडान तथा बाँकी चारमा संस्थागत इन्टरनेट कनेक्टिभिटी मिलाइएको जनाइएको छ । त्यससँगै सेवाग्राहीलाई घरबाटै कर भुक्तानीका लागि ई–पेमेन्ट सेवा सञ्चालन र नगरपालिकाका गतिविधिको जानकारी दिनका लागि नगरपालिकाको एप्स तथा वेबसाइट र फेसबुक सञ्चालन गरिएको सो अवसरमा उहाँले बताउनुभयो ।

Facebook Comments Box