अध्यक्ष केपीशर्मा ओलीले भोलि पत्रकार सम्मेलनको आयोजना गर्ने

काठमाडौं, ८ माघ – नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेका छन् । पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आइतबार (भोलि) पार्टी अध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायत विषयमा एमालेले पत्रकार सम्मेलनमार्फत् आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्न लागेको हो ।

नेकपा एमालेले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राख्दै आएको छ । तर, सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाखमा पहिले संघीय निर्वाचन गर्नुपर्ने र त्यसपछि अन्य निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि त्यसले राजनीतिक वृतमा तरंग ल्याएको छ ।

यद्यपि यस विषयमा सत्ता गठबन्धनमा साझा सहमति बनिसकेको छैन । गठबन्धन दलले तीनवटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि छलफल र संवाद अघि बढाएका छन् । उनीहरुले यसविषयमा कानुनविदहरुसँग छलफल गर्ने निर्णय पनि गरिसकेका छन् ।

Facebook Comments Box