अपाङ्गता मैत्री संरचना निर्माण सम्बन्धी नेपाल इन्जिनियर्स एशोसियसनमा ध्यानकर्षण पत्र

काठमाडौँ, २१ चैत – हाम्रा अधिकांश निकायका संरचनाहरु मानव मैत्री तथा पहुँचयुक्त छैनन् । जसले गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक रुपमा आवगमनमा निकै चुनौती हुने गरेको छ । अपाङ्गता मैत्री संरचना नहुदा अपाङ्गता भएका व्यक्तिहरु आर्थिक, भौतिक, सामाजिक लगायतका विषयमा पछाडी परेका छन् ।

अपाङ्गता मैत्री तथा मानव मैत्री संरचना निर्माणका लागि सम्बन्धीत निकायको ध्यानकर्षण गर्ने क्रममा इन्जिनियरहरुलाई पनि जानकारी गराउने उदेश्यले राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले हिजो चैत १९ गते नेपाल इन्जिनियर्स एशोसियसनमा ध्यानकर्षण पत्र बुझाएको छ ।

सो कार्यक्रममा शारीरिक अपाङ्गता भएकी महिला इमोजन श्रेष्ठले सरकारी वा गैरसरकारी भवनहरु निर्माण गर्दा विश्वव्यापी मान्यता अनुसार बनाएमा मानव मैत्री हुने बताउनु भयो । साथै अपाङ्गता मैत्री संरचनाका विषयमा बनेका नीति नियमहरु पनि पूर्ण रुपमा कार्यन्वयन गरिनु पर्ने कुरा पनि बताउनु भयो ।

त्यसै गरी नेपाल आदिवासी जनजाति अपाङ्ग संघ ( निडा) का अध्यक्ष खड्ग सारुमगरले मानव मैत्री संरचना नहुदा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले दैनिक रुपमा समस्या भोग्न परेको भन्दै यस नेपाल इन्जिनियर्स एशोसियसनमा बनाइएको र्याम्प पनि पहुँचयुक्त नभएको गुनासो गर्दै मानव मैत्री संरचना निर्माण गर्दा अपाङ्गता भित्रको विविधता पनि हेर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

यस ध्यानकर्षण पत्र बुझाउने क्रममा राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष किरण शिल्पकारले नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव रवी भूषण झालाई हस्तान्त्रण गर्दै आफु आवद् संस्थाले स्थापनाकाल देखि नै अपाङ्गता भएका व्यक्तिहरुको भौतिक संरचना निर्माणका लागि वकालत तथा पैरवी गर्दै आए भएता पनि हाम्रा अधिकांश संरचनाहरु अपाङ्गता मैत्री नभएको गुनासो गर्दै अबका दिनमा नेपाल इन्जिनियर्स एशोसियसनले अब निर्माण हुने सबै संरचनाहरु मानव मैत्री बनाउनका लागि पहल गर्नु पर्ने, र्याम्पहरुलाई पनि विश्वव्यापी मान्यताका आधारमा बनाइनु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा सहभागी हुनु भएका अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अब सबै निकायहरुलाई मानव मैत्रि संरचना निर्माणको लागि नक्सा डिजाइनका लागि सबै इन्जिनियरहरु पनि सचेत हुनु पर्ने र अपाङ्गताका भैतिक चुनौतीका विषयम संवेदनशिल हुनु पर्ने बताउनु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसियसनका उपमहासचिव सरोज धितालले अबका दिनमा नेपाल इन्जिनियर्स एशोसियसनमा आवद् सबै इन्जिनियरहरुलाई मानव मैत्री संरचना तथा अपाङ्गताको विविधता अनुसारको संरचना निर्माणका लागि सचेत गराउने बताउनु भयो ।

यसै क्रममा नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव रवी भूषण झाले ध्यानकर्षण पत्र बुझ्दै मानव मैत्री संरचना निर्माणका लागि काम गर्ने र यस ध्यानकर्षण पत्रमा जानकारी गराइएका सवालहरुलाई संवोधन गर्नका लागि सक्दो पहल गर्ने र अपाङ्गता भएका व्यक्तिहरुका हरेक सवाललाई संवोधन गर्न र सधै आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

शर्मिला विश्वकर्मा, ललितपुर

Facebook Comments Box