नेपाल भारत सीमा क्षेत्रबाट भारतीय रुपैयाँ र लागूऔषधसहित पाँच युवा पक्राउ

झापा, ९ पुस – झापाको मेचीनगरस्थित सीमा नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले भारतीय रुपैयाँ र लागूऔषधसहित पाँचजना नेपाली युवालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले बिहीबार दिउँसो उनीहरुलाई दशगजा क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मेचीनगर १० घर भएका २६ वर्षीय अनुप राजवंशी, सोही ठाउँका २५ वर्षीय राजा उराव, पाँचथरको फिदिम १ चौतारेडाँडा घर भई हाल झापाको बिर्तामोड बस्ने २७ वर्षीय सरोज लावती, २४ वर्षीय विवश खवास र २१ वर्षीय वीरबहादुर राई छन्।

सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका डीएसपी प्रेमबहादुर भण्डारीका अनुसार भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई बिओपी काँकडभिट्टाको सशस्त्र टोलीले मेचीनगर ६ कालीमन्दिरस्थित नेपाल(भारत सीमा पिलर ८८(७ नजिकैबाट बुधबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट प्रतिबन्धित औषधि अल्प्राजोलम पाज़ ६३ चक्की, ९४ हजार ८ सय ६० भारतीय रूपैयाँ, ४ सय ३० नेपाली रूपैयाँ र एउटा मोबाइल बरामद गरेको छ। हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए।

Facebook Comments Box