अहिले प्रयोगमा रहेका खोपले नयाँ भेरियन्टमा पनि ‘महत्वपूर्ण सुरक्षा’ दिन सक्छ : डब्ल्यूएचओ

काठमाडौँ, २९ मङ्सिर – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ विरुद्धको अहिले प्रयोगमा रहेका खोपले नयाँ भेरियन्टमा पनि ‘महत्वपूर्ण सुरक्षा’ दिन सक्ने बताएको छ।

कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएसँगै विश्वभर कोरोना खोपले काम गर्छ कि गर्दैन भन्ने आशंका जारी रहेको अवस्थामा डब्ल्यूएचओले यस्तो बताएको हो। डब्ल्यूएचओले ओमिक्रोन भेरियन्टको संक्रमणमा खोपको प्रभावकारिता भने घट्ने बताएको छ।

मंगलबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले गत महिना दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट अहिले ७७ मुलुकमा फैलिइसकेको र यसलाई सामान्य लक्षण मात्र देखिने संक्रमणको रुपमा बेवास्ता भने गर्न नहुने बताए।

‘ओमिक्रोन यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा फैलिइरहेको छ। ओमिक्रोनसहितको संक्रमणले त्यति गम्भीर बिरामी नपारे पनि पर्याप्त तयारी नभएको स्वास्थ्य प्रणालीले यसलाई नथेग्न पनि सक्छ’, उनले भने।

डब्ल्यूएचओ इमर्जेन्सिजका निर्देशक माइक रयानले कोरोना खोपले अझै पनि गम्भीर लक्षण देखिन र मृत्युबाट बचाउन ‘महत्वपूर्ण’ सुरक्षा दिने बताए। उनका अनुसार अहिलेसम्म प्राप्त विवरणले यो भेरियन्टविरुद्ध कोरोना खोपले अझै पनि महत्वपूर्ण सुरक्षा भने दिइरहेको छ।

यद्यपि यसको प्रभावकारिता भने यो भेरियन्टमा घटेको छ। डब्ल्यूएचओ प्रमुख टेड्रोसले ओमिक्रोनको संक्रमण नियन्त्रणको लागि बुस्टर डोज महत्वपूर्ण हुन सक्ने बताए।

Facebook Comments Box