करारलाई स्वतः स्थायी गर्ने निर्णयको विरोधमा त्रिविमा ताला

काठमाडौँ, १६ मङ्सिर – करारका प्राध्यापक तथा कर्मचारीलाई स्वतः स्थायी गर्ने विश्वविद्यालयको निर्णयको विरोध गर्दै नेकपा (एमाले) निकट अनेरास्ववियुले विहिबार त्रिवि केन्द्रीय कार्यालयमा ताला लगाएको छ । उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा ताला लगाएको सो संगठनले जनाएको छ ।

सो निर्णयबाट फिर्ता भएर खुल्ला प्रतिस्पर्धाबाट प्राध्यापक तथा कर्मचारी नियुक्त गर्नुपर्ने सो अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को माग छ ।

अनेरास्ववियु त्रिवि समितिका इन्चार्ज मदन विष्टले भन्नुभयो, “योग्यलाई पाखा लगाउने गरी त्रिविले गरेको निर्णय निकै अव्यवहारिक छ । खुल्ला प्रतिस्पर्धा गरेर सेवा प्रवेश गर्ने योजनामा रहेकालाई समेत निराश पार्नेगरी भएको निर्णय फिर्ता लिइनुपर्छ ।”

मङ्सिर १४ गते बसेको त्रिवि सिनेट वैठकले अस्थायी वा करार सेवामा कार्यरत प्राध्यापकले मात्र आन्तरिक प्रतिस्पर्धा गर्न पाउने गरी पदपूर्ति गर्ने निर्णय गरेको थियो । सो निर्णयको विद्यार्थी संगठनले विरोध गर्दैआएका छन् ।

Facebook Comments Box