भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने योजना हालका लागि स्थगित

काठमाडौं, १५ मंसिर – भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ ।कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र भारतबाट वा यसतर्फ हुने अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने मितिबारे उपयुक्त समयमा जानकारी गराइने महानिर्देशनालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।

‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ’, महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ।’

Facebook Comments Box