नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीद्वारा कतार सँगको टी-ट्वान्टी सिरिज क्लिन स्विप
काठमाडौँ, २ मङ्सिर – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले तेस्रो तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा कतारलाई १ सय १० रनले पराजित गर्दै खेल क्लिन स्विप गरेको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रन बनायो । नेपालको लागि सिता राना मगरले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् ।
सिताले ७२ बलमा ७ चौका प्रहार गरिन् । सिताको यो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाईन् । काजल श्रेष्ठ १२ रनमा आउट भईन् । सरिता मगर १७ रनमा अविजित रहिन् । कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १/१ विकेट लिईन् ।
१ सय ६५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कतारले निर्धारित २० ओभरमा ७ खेलाडी गुमाएर मात्र ५५ रन बनाएर खेल १ सय १० रन बाट हार्नपुग्यो ।
क्तरका लागि एलिना खानले १९ तथा आयुसाले १३ रन बाहेक अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन्न । नेपालका लागि सवनम राई, सरस्वती कुमारी र रुविना क्षेत्रीले १-१ विकेट लिए ।
नेपालले मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो । यस्तै बुधबार भएको दोस्रो खेलमा ६१ रनको जित निकाल्दै महिला टोलीले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको थियो । नेपालले आफ्नो पहिलो अन्तराष्ट्रिय क्रिकेट सिरिजमै ऐतिहासिक सफलता प्राप्त गरेको हो ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो ।
विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।

