दुई लाख ५२ हजार तीन सय ६३ डोज हैजाविरुद्धको खोप काठमाडौं आइपुग्याे
काठमाडौँ, २९ कात्तिक – कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि अमेरिकाबाट ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल ल्याएको छ। आइतबार दुई लाख ५२ हजार तीन सय ६३ डोज हैजाविरुद्धको खोप काठमाडौं आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा युनिसेफ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हैजा बिरुद्धको खोप हस्तान्तरण गरेका छन्। युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा.विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गरेका हुन्।
सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त खोप विश्व स्वास्थ्य सङ्गठन, गाभी र युनिसेफको सहयोगमा नेपाल आएको हो। गएको १८ असोजदेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको थियो। हैजाबाट कृष्णनगरमा सयौँ बिरामी परेका छन् भने सात जनाको मृत्युसमेत भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार हैजाबाट कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ नम्वर वडा बढी प्रभावित भएका छन्। त्यहाँका बिरामीमा अहिले पनि झाडापखाला र बान्ताको समस्या नियन्त्रणमा आइसकेको छैन।
प्रवक्ता पौडेलले आगामी आइतबारदेखि कृष्णनगरसहित कपिलवस्तुका पाँच स्थानीय तहका नागरिकलाई खोप खुवाइने जानकारी दिए। पहिलोपटक हैजाविरुद्धको खोप दिन लागेकाले स्वास्थ्यकर्मीलाई तालिम दिएपछि मात्रै खोप खुवाइने पौडेलले बताए।
कपिलवस्तुको हैजा प्रभावित क्षेत्र कृष्णनगरमा ६० हजार सात सय ४३ जना, महाराजगन्जमा ५३ हजार एक सय ५६ जना, शिवराजमा ६४ हजार सात सय ७८ जना, विजयनगरमा ३५ हजार नौ सय तीनजना र यशोधरामा ३७ हजार सात सय ८३ जना गरी दुई लाख ५२ हजार तीन सय ६३ जनालाई हैजाविरुद्ध खोप खुवाउने सरकारको तयारी छ।
यो खोप एक पटक लगाएपछि पाँच वर्षसम्म हैजाबाट सुरक्षित रहन सकिने विभिन्न अध्ययनले देखाएको पौडेलले जानकारी दिए। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले हैजा प्रभावित क्षेत्रका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोप दिइने बताए। ‘मंसिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘अन्य चार स्थानीय तहमा मंसिर ७ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ।’

