‘नेपाल भाषाको अभियानमा तुलाधरको योगदान अतुलनीय’
काठमाडौं, २६ कात्तिक – नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाल भाषाको अभियान सञ्चालन गरेर अधिकार प्राप्तीका लागि लाग्नुभएको बताउनुभएको छ ।
स्व तुलाधरको तेस्रो स्मृति दिवसको अवसरमा आज आयोजित विचार गोष्ठीमा उहाँले तुलाधरले सबै भाषालाई मान्यता दिनुपर्ने भनी अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँको सो अभियानलाई पार्टीले पनि साथ दिएको महासचिव पोखरेलले उल्लेख गर्नुभयो ।
राष्ट्रिय पञ्चायतमा निर्वाचित भएर पनि उहाँले प्रजातन्त्रका लागि लाग्नुभएको थियो । उहाँले भन्नुभयो, “उहाँले सधैँ नागरिकको अधिकारका लागि लड्नुभएको थियो ।”
समावेशीता र सहभागिताका क्षेत्रमा अहिलेसम्म धेरै परिवर्तन आइरहेको महासचिव पोखरेलले बताउनुभयो । प्रा डा चुन्दा बज्राचार्यले नेपाल भाषालाई मान्यता दिलाउन तुलाधरको अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो ।

